अधिकार ः पाउने कुरा, बुझ्ने कुरा र बुझेर व्यवहारमा प्रयोग गर्ने तीनवटा कुराहरुले महत्व राख्ने गर्दछ । अधिकारका बारेमा बिभिन्नत तह र तप्काहरुबाट वकालत, पैरवी भएका छन् । हाम्रो गाउँ हिजोको गाउँको रुपमा अहिले देखिदैन् । हिजो गाउँमा भएका बिभिन्न अधिकार हननका कुराहरु बाहिर आउँदैनथे, गाउँमै मिल्नुपर्ने बाध्यता थियो । आजभोली गाउँमा अधिकार हननका साना देखि ठूला सवैखाले घटनाहरु लुकाउन सक्ने अवस्था देखिदैन् । सवै घटनाहरु बाहिर आउने गरेका छन् । गाउँमा मिल्न नसक्ने अवस्था भन्दा पनि सम्वन्धित निकायसम्म पुगेपछि अधिकार प्राप्त हुन्छ भन्ने जनमानसमा अधिकारको चेतना विस्ता भैसकेको छ ।
पछिल्ला बर्षहरुमा जातिय विभेद मात्र हैन दलित समुदाय भित्रै हुने विभेदहरु , जनजाती, ब्राहमण लगायतका अन्य विभिन्न जातीहरु भित्रै हुने बिभेदका कुराहरु समेत बाहिर आउन थालेका छन् । यसले अधिकारको उपयोग गर्न सक्ने क्षमता मानिसहरुमा विस्तार हुँदै गएको भन्ने विश्लेषण गर्नुपर्ने देखिन्छ । घटना बाहिर आउने कुरा अधिकार बढेका कारण भएको हो भन्ने तर्फ ध्यान पुर्याउँदै आगामी दिनहरुमा यस्ता घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्ने परिपाटीको व्यवस्था गर्न सक्नुपर्ने आजको आवश्यकता हुन आउँछ ।
अधिकार प्राप्त गर्न सामाजिक अभियान चलाउनु महत्वपुर्ण काम हो तर अभियानकै नाममा हुने विभिन्न खाले समस्याहरुको बारेमा समेत सम्वन्धित अभियान कर्ताहरुले बुझ्नुपर्ने छ चाहे त्यो, साँस्कृतिक, धार्मिक, सुशासन, जस्तो खालको अभियान होस् ।








